वीरगंज — राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व बिना नयाँ नेपाल निर्माण सम्भव नहुने बहस तीव्र भइरहेका बेला उज्यालो नेपाल पार्टीले पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शिक्षित युवाहरूलाई उम्मेदवार बनाएको छ।
कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आज पर्साका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको हो। पार्टीका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट ३५ वर्षीय राजकिशोर सिंह (पराग), क्षेत्र नं. २ बाट ३६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट कृष्णमुरारी प्रजापति, क्षेत्र नं. ३ बाट ४० वर्षीय शिक्षक रामरुप साह कानु र क्षेत्र नं. ४ बाट ४० वर्षीय शिक्षक विनोद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ।

पर्सा–१ का उम्मेदवार राजकिशोर सिंह (पराग) स्नातक तह उत्तीर्ण गर्दै लामो समयदेखि राजनीतिमा सक्रिय रहनुभएको छ। पर्सा–२ का उम्मेदवार कृष्णमुरारी प्रजापति उच्च शिक्षा हासिल गरेका चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ भने पर्सा–३ र ४ का उम्मेदवारहरू रामरुप साह कानु र विनोद यादव शिक्षण पेशाबाट सामाजिक सेवामार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो।
ठूला दलहरूले युवा सहभागिताको कुरा सीमित रूपमा उठाइरहेका बेला उज्यालो नेपाल पार्टीले शिक्षित, बौद्धिक र सक्षम युवाहरूलाई प्रत्यक्ष चुनावी मैदानमा उतारेर फरक पहिचान बनाउने प्रयास गरेको जनाएको छ। पर्सा–१ का उम्मेदवार सिंहले भाषणमा मात्र सीमित दलहरूभन्दा फरक ढंगले काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



