बीरगञ्जस्थित गहवा माइको दोस्रो चुनरी यात्राको तयारी तीव्र तथा भव्य रूपमा भइरहेको आयोजकले जनाएको छ।
माइस्थान मन्दिर परिसरमा हिन्दू पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद् नेपालले चुनरी यात्राको तयारीबारे औपचारिक जानकारी गराएको हो। उक्त पत्रकार सम्मेलन हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो।

आयोजकका अनुसार गत वर्षझैँ यस वर्ष पनि वडादशैँको पहिलो दिन अर्थात् घटस्थापनाका दिन दिउँसो २ बजे माइस्थान मन्दिर प्रांगणबाट चुनरी यात्रा सुरु गरिनेछ। यात्रामा विभिन्न बाजागाजाका साथै देवी स्वरूपका आकर्षक झाँकीहरू समेत प्रदर्शन गरिनेछ।
कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन परिषद्का स्वयंसेवक, स्थानीय प्रशासन तथा विभिन्न संघ-संस्थाहरूको उच्च सहभागिता रहने र सोहीअनुसार सुरक्षा तथा व्यवस्थापनको प्रबन्ध मिलाइएको आयोजकले बताएका छन्।
यस वर्षको चुनरी यात्रामा करिब १० हजार स्थानीय महिला तथा भक्तजनहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।
पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद्का विभिन्न जिम्मेवारीमा रहेका महिला पदाधिकारी तथा सदस्यहरूलगायतको बाक्लो उपस्थिति रहेको थियो।


