मंसिर ११ पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आफ्नो ५५औँ वार्षिकोत्सव मनाएको छ। सोही अवसरमा विद्यालयको शैक्षिक प्रगति र विकासमा उल्लेखनीय योगदान दिने पूर्वशिक्षक तथा शिक्षाप्रेमीहरूलाई सम्मान गरिएको छ।
वि.सं. २०२८ सालमा स्थापना भएको विद्यालयले ‘हाम्रो विद्यालय, हाम्रो पहिचान ! हाम्रो गौरव, हाम्रो स्वाभिमान !!’ भन्ने मूल नारालाई आत्मसात् गर्दै वार्षिकोत्सव तथा सम्मान समारोह आयोजना गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका दाता एवं पूर्वमन्त्री मोहनलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वशिक्षक र शिक्षाप्रेमीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
५५ वर्षअघि स्थापना भएको यस विद्यालयले लामो शैक्षिक यात्राका क्रममा स्थानीय समुदायमा शिक्षाको पहुँच बढाउनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयले आगामी दिनमा पनि शैक्षिक उपलब्धि हासिल गर्दै थप प्रगति गर्ने अपेक्षा गरिएको छ।



