०८३/८/२
वीरगञ्ज, मंसिर २। विश्व दम रोग दिवसको अवसरमा आज वीरगञ्जमा दम रोग (COPD) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक र्याली निकालिएको छ।
स्वस्थ जीवनका लागि स्वस्थ मुटु र स्वस्थ मुटुका लागि स्वच्छ हावा भन्ने सन्देशसहित निकालिएको उक्त र्याली तराई हस्पिटलबाट सुरु भई वीरगञ्जको विभिन्न भाग परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। र्यालीमा सहभागीहरूले COPD रोगको रोकथाम, उपचार तथा व्यवस्थापन सम्भव रहेको सन्देशसहितका प्लेकार्ड बोकेर जनचेतना फैलाएका थिए।
घण्टाघर चोकमा आयोजित कोणसभामा डा. रोशन कुर्मीको प्रमुख उपस्थितिमा दम रोग (COPD) को समयमै पहिचान, सही उपचार तथा रोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।
सो अवसरमा डा. कुर्मीले विशेषगरी चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले आफ्नो स्वास्थ्यप्रति थप सचेत रहनुपर्ने बताउनुभयो। स्वास्थ्यमा कुनै समस्या देखिएमा बेवास्ता नगरी समयमै चिकित्सकसँग परामर्श लिन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा धूम्रपानबाट टाढा रहने, वायु प्रदूषण नियन्त्रण गर्ने, स्वच्छ वातावरण कायम राख्ने तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा समेत सर्वसाधारणलाई सचेत गराइएको थियो।
दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (COPD) ले श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गराउने भएकाले यसको लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने र समयमै परीक्षण तथा उपचार गराउनुपर्नेमा कार्यक्रमले जोड दिएको थियो।
विश्व दम रोग दिवसका अवसरमा आयोजित यस कार्यक्रमले श्वासप्रश्वाससम्बन्धी रोगबारे जनचेतना फैलाउनुका साथै स्वच्छ हावा, स्वस्थ वातावरण र समयमै उपचारको महत्त्वलाई उजागर गरेको छ।
सन्देश : समयमै COPD रोग पहिचान गरौँ, सही उपचार अपनाऔँ र जीवनलाई सहज बनाऔँ।




