रौतहटको मौलापुर क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मौलापुर–जयनगर सडकखण्डमा गरिएको नियमित सवारी जाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार बारा सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका ३७ वर्षीय मुन्ना जैसवाललाई शुक्रबार पक्राउ गरिएको हो। उनी हरनैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा जयनगरतर्फ जाँदै थिए।

प्रहरीले मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र लुकाइराखिएको अवस्थामा १ हजार दरका ८३३ थान, ५ सय दरका ६२५ थान र १ सय दरका १५ थान नोट फेला पारेको छ। बरामद नगदको जम्मा रकम ११ लाख ४७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखी आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। मौलापुर–देवाही गोनाही सडकखण्डको लाल बकैया नदी पुल नजिकै गरिएको चेकजाँचका क्रममा रकम शंकास्पद देखिएपछि बरामद गरिएको जनाइएको छ।



