वीरगन्ज, २० असोज।
वीरगन्जस्थित त्रिशाला रेस्टुरेन्टमा कार्यरत सुनिता स्याङ्बोको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। घटनाको अनुसन्धानका क्रममा तत्कालीन जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकसहित अनुसन्धान अधिकृत तथा घटनाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबाट गम्भीर त्रुटि भएको दाबी गरिएको छ।
प्रहरीले पर्सा जिल्ला अदालतमा पेस गरेको अनुसन्धान मिसिलमै कैफियत देखिएको तथ्य बाहिर आएपछि घटनाका वास्तविक दोषीले उन्मुक्ति पाएको हुनसक्ने आशंकासमेत व्यक्त गरिएको छ।

स्याङ्बोले २०८२ साल मंसिर २७ गते आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष भए पनि घटनाको प्रकृति तथा अनुसन्धानका क्रममा तयार पारिएका कागजात हेर्दा प्रकरण अझै रहस्यमय देखिएको छ। घटनाको सुरुवाती चरणमै अनुसन्धानलाई अन्य दिशातर्फ मोड्ने गरी मुचुल्का तयार पारिएको तथा घटनामा प्रत्यक्ष संलग्नता नरहेको व्यक्तिलाई प्रतिवादी बनाइएको आरोपसमेत लागेको छ।
रेस्टुरेन्टभित्र भएको भनिएको घटनामा त्यहाँ कार्यरत कर्मचारी वा सञ्चालकको नामसमेत अनुसन्धानका क्रममा उल्लेख नगरिएको देखिन्छ। भारतीय नागरिक अनिल छोपालीयाका छोरा अनमोल साहसहित तीन जनालाई प्रहरीले प्रारम्भमा अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि सोही दिन साहलाई हाजिरी जमानीमा रिहा गरिएको थियो। वीरगन्जका व्यवसायी सुरेश रुंगटाको पहलमा अन्य आरोपितलाई समेत छाडिएको दाबी गरिएको छ।
त्यसपछि प्रहरीको अनुसन्धानमा उनीहरूको नाम कतै उल्लेख नगरिएको देखिन्छ। पासो लगाएर आत्महत्या गरेको भनिएकी युवतीलाई प्रहरी घटनास्थलमा पुग्नुअघि नै पासो लगाइएको स्थानबाट निकालेर बेडमा राखिएको, घटनास्थलको मुचुल्का तयार पार्दा स्थानीय जनप्रतिनिधिलाई सहभागी नगराइएको तथा मृतकले लेखेको भनिएको सुसाइड नोट वास्तवमै उनैले लेखेको हो वा होइन भन्ने विषयमा समेत पर्याप्त परीक्षण र अनुसन्धान नगरिएको प्रश्न उठेको छ।
त्यसैगरी, मृतक युवती प्रेम सम्बन्धमा रहेको भनिए पनि उनी कससँग सम्बन्धमा थिइन् भन्ने विषयसमेत अनुसन्धानबाट स्पष्ट पारिएको देखिँदैन। यी घटनाक्रमले अनुसन्धानलाई गम्भीर र निष्पक्ष ढंगले अगाडि बढाइएको थियो कि थिएन भन्ने प्रश्न जन्माएको छ।
अदालतमा सुरक्षित रहेका अन्य कागजात अध्ययन गर्दा प्रहरीले हतारमा अनुसन्धान सकेर मुद्दा अदालतमा पेस गरेको देखिन्छ। घटना भएको करिब चार महिनामै पर्सा जिल्ला अदालतबाट फैसला भएको तथ्यले पनि अनुसन्धान प्रक्रियाको गति र गुणस्तरमाथि प्रश्न खडा गरेको छ।
मुद्दामा सिन्धुपाल्चोकका अविनाश भुजेललाई एक मात्र प्रतिवादीका रूपमा अदालतमा प्रस्तुत गरिएको देखिन्छ। प्रहरीको अनुसन्धान मिसिलमा उनको मोबाइल नम्बरसमेत उल्लेख गरिएको छैन। कागजातअनुसार उनी १९ वर्षीय युवक रहेको देखिन्छ।
मृतक युवतीकी आफ्नै आमा र भाइ त्यस समयमा जीवित हुँदाहुँदै गाउँकै एक युवकलाई मृतकको भाइका रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ। छोरीको मृत्यु भएको केही समयपछि मृतककी आमाले समेत आत्महत्या गरेको देखिए पनि उक्त घटनालाई सुनिता मृत्यु प्रकरणसँग जोडेर प्रहरीले अनुसन्धान नगरेको आरोप छ।
मृतककी आमाको मृत्यु, जाहेरवाला भनिएका विकास स्याङ्बो केही दिनमै कोरिया पुगेको तथा प्रेमी भनिएका युवकसमेत सम्पर्कविहीन भएको घटनाक्रमले प्रकरणलाई थप शंकास्पद बनाएको छ।
त्रिशाला रेस्टुरेन्टमा भएको भनिएको घटनासँग सम्बन्धित स्थानीय चर्चाअनुसार, सञ्चालक अनमोल साहको आफ्नै श्रीमतीसँग मृतक युवतीकै कारण विवाद तथा झगडा हुने गरेको दाबी गरिएको छ। यसै आधारमा सुनिता स्याङ्बो र अनमोल साहबीच प्रेम सम्बन्ध रहेको हुनसक्ने आशंकासमेत गरिएको छ। यद्यपि, उक्त सम्बन्धबारे आधिकारिक अनुसन्धानबाट पुष्टि हुन भने बाँकी छ।
घटनाको मुचुल्कामा अनमोल साह, राजेश सारुमगर र चुनुकुमार सिंहबाट घटनासम्बन्धी विवरण लिइएको देखिए पनि जाहेरी भने विकास स्याङ्बोबाट लिइएको देखिन्छ। तर त्यसपछिको अनुसन्धानमा विकास स्याङ्बोको नामसमेत हटाइएको दाबी गरिएको छ।
मुद्दाको सम्पूर्ण फाइल अध्ययन गर्दा प्रहरीले आर्थिक लेनदेनका आधारमा घटनालाई मिलाउन सहयोग गरेको हुनसक्ने आशंकासमेत गरिएको छ। अन्य सामान्य प्रकृतिका मुद्दासमेत अदालतमा पेस गर्न महिनौँ वा वर्षौँ लाग्ने गरेको अवस्थामा यस प्रकरणमा भने चार महिनाभित्रै अनुसन्धान पूरा गरी मुद्दा अदालतमा पेस गरिएको विषयले पनि प्रश्न उठाएको छ।
प्रहरीले तयार पारेको घटनाविवरणमा विकास स्याङ्बोसँग बयान लिइएको स्पष्ट विवरणसमेत नरहेको देखिन्छ। यही घटनाको सेरोफेरोमा अनमोल साहको पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको र हाल उनले अर्को विवाह गरिसकेको बताइएको छ।
यता, छोरीको मृत्युको पीडामा सुनिता स्याङ्बोकी आमाले समेत आत्महत्या गरेको देखिए पनि प्रहरीले उक्त घटनालाई सुनिताको मृत्यु प्रकरणसँग जोडेर अनुसन्धान नगरेको आरोप छ। यी सम्पूर्ण घटनाक्रमलाई आधार मान्दा स्याङ्बो मृत्यु प्रकरणमा आर्थिक चलखेलमार्फत व्यवसायीलाई जोगाउने प्रयास भएको तथा घटनालाई आत्महत्याको रूप दिन कृत्रिम रूपमा प्रतिवादी खडा गरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।
सरकारवादी मुद्दामा जिल्ला अदालतमा हार व्यहोरेको सरकारी वकिलको कार्यालयले हालसम्म पुनरावेदनका लागि उच्च अदालतमा निवेदन नदिएको पर्सा सरकारी वकिल कार्यालयका सूचना अधिकारी अन्तराज न्यौपानेले बताएका छन्।
घटनाका आरोपित अविनाश भुजेलविरुद्ध पर्सा जिल्ला अदालतबाट २०८२ चैत ३० गते फैसला भएको देखिन्छ। सामान्यतया आपराधिक मुद्दामा अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया पूरा हुन लामो समय लाग्ने भए पनि यस प्रकरणमा करिब चार महिनामै फैसला भएको विषयले न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
यस घटनामा प्रहरी अनुसन्धान, अभियोजन प्रक्रिया तथा अदालतमा पेस गरिएका कागजातबीच देखिएका असंगतिबारे निष्पक्ष र पुनः अनुसन्धान आवश्यक रहेको देखिन्छ।
घटना भएको समयमा प्रहरी तथा प्रारम्भिक रिपोर्टहरूले यसलाई आत्महत्याका रूपमा उल्लेख गरे पनि मृतकका आफन्त तथा स्थानीयवासीले भने घटनालाई शंकास्पद भन्दै हत्याको आशंका गरेका थिए। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्साअगाडि धर्ना तथा वीरगन्जमा प्रदर्शनसमेत गरेका थिए।
त्यसपछि तत्कालीन प्रहरी उपरीक्षक सुदीप राज पाठकले मृतक परिवारलाई सहयोग गरेको विषयलाई समेत पर्सागढी नगरपालिका–३ का सामाजिक अगुवाहरूले ‘नाटक’का रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार घटनाको वास्तविकता बाहिर ल्याउनुभन्दा पीडित परिवारलाई सहयोग गरेको देखाउने प्रयास गरिएको थियो।


