सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ। भदौ २४ गतेको आगजनीपछि क्षति भएको भवन मरम्मत नहुँदा केही समयदेखि सिमित मुद्दाहरूमा मात्र पेशी तोकिँदै आएको थियो। हिजो जारी गरिएको सूचनामार्फत अदालतले थप ६ वटा इजलास सञ्चालनमा आउने जानकारी दिएको हो।
जेनजी आन्दोलनपछिको आगलागीका कारण सर्वोच्चमा इजलास गठनमै समस्या भएको थियो। इजलास बस्ने पर्याप्त स्थान नहुँदा मुद्दाहरू क्रमशः थन्किदै आएका थिए।

आजदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन गरिने छ। संवैधानिक इजलाससमेत नयाँ भवनमै चल्ने सर्वोच्च अदालतले जनाएको छ।
हाल सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन्, तर आगजनीबाट भएको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन गर्न नसकिँदै आएको अवस्थामा आजदेखि सबै इजलास नियमित रूपमा कार्यरत हुनेछन्।
तपाईको प्रतिक्रिया



