मधेस प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीले संघीय गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रदेशको सुरक्षा चुनौती, अपराध वृद्धिदर र स्थानीय प्रशासनबीच समन्वयबारे विस्तृत छलफल गरेकी छन्।
गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अन्सारीले प्रदेशमा बढ्दो अपराध, सामाजिक सद्भावमा परेको दबाब र समन्वय अभावका कारण सुरक्षा व्यवस्थापनमा परेको असरको प्रत्यक्ष जानकारी संघीय सरकारलाई गराइन्। छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की पनि उपस्थित थिए।

अन्सारीले प्रहरी समायोजन ऐनको ढिलाइले सुरक्षा प्रणालीको प्रभावकारितामा परेको असर औँल्याउँदै ऐन शीघ्र अघि बढाइदिन केन्द्र सरकारलाई अनुरोध गरिन्। उनका अनुसार समायोजन पूरा भएपछि सेवा र सुरक्षा प्रणाली अझ एकीकृत र प्रभावकारी बन्नेछ।
गृहमन्त्री अर्यालले मधेस प्रदेशको शान्ति–सुरक्षा सुदृढीकरणमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्यारउँदै केन्द्र–प्रदेश सहकार्यलाई अझ बलियो बनाउने आश्वासन दिए। उनले आगामी प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार तयार रहेको जानकारी पनि गराए।
मन्त्री अन्सारीले हालै देशका विभिन्न स्थानमा भएको तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति, र प्रतिगामी तत्वको सम्भावित संलग्नतालाई लिएर चिन्ता व्यक्त गर्दै, यस्ता गतिविधि रोक्न उच्च सतर्कता आवश्यक भएको बताइन्। उनले मधेसमा पछिल्ला महिनामा देखा परेका सुरक्षा चुनौती र राजनीतिक संवेदनशीलताका कारण संघ–प्रदेश नियमित समन्वय अपरिहार्य भएको पनि औँल्याइन्।



