धनुषा, मंसिर – ७
धनुषाको मिथिला नगरपालिका–२, हजरा चोकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार, मृत्यु हुनेमा मिथिला नगरपालिका–१, लक्ष्मीनिवासकी ५५ वर्षीया सुमित्रा देवी महतो छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। सोही दुर्घटनामा सुमित्रा देवीका श्रीमान् ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
सडक पार गर्न लागेका साइकलमा सवार दम्पतीलाई बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरी टोलीले घाइते राजकुमार महतोलाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएका थिए ।
प्रहरीले ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।



