पकाहामैनपुरमा डुबान, १५ घरधुरी प्रभावित — युवा नेता अकलेश साहले गरे स्थलगत अवलोकन

पकाहामैनपुर, पर्सा । लगातारको वर्षापछि पकाहामैनपुर गाउँपालिका–२ मानिपुरका बस्ती डुबानमा परेका छन्। मंगलबार र बुधबारको अविरल वर्षाले करिब १५ घरधुरीमा पानी पस्दा स्थानीयवासीको दैनिकी कठिन बनेको छ।

स्थानीय महेन्द्र कम्करका अनुसार नाला तथा पानी निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षा हुँदा पनि गाउँ डुबानमा पर्ने गरेको छ। “सामान्य पानी पर्दा पनि घरभित्रै पानी पस्छ, पालिकाले निकासको कुनै व्यवस्था गरेको छैन,” उनले गुनासो गरे।

यसैबीच नेकपा एमाले पकाहामैनपुरका युवा नेता अकलेश साह बुधबार स्थलगत अवलोकनमा पुगेका थिए। उनले प्रभावित परिवारको पीडा सुन्दै पालिकाको चरम लापरबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरे। “गाउँपालिका स्थापना भएको सात वर्ष पुगिसक्दा पनि यस्तो समस्या समाधान गर्न चासो नदिनु दुःखद छ,” साहले भने।

ओविसीका केन्द्रीय उपाध्यक्ष समेत रहेका साहले तत्काल नाला निर्माण गरी निकासको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पालिका प्रमुख सुरेश मेहतासँग छिटो पहलका लागि आग्रह गरेका छन्। पालिकाले बेवास्ता गरे समस्या अझै चर्किने चेतावनी पनि उनले दिए।

डुबानका कारण प्रभावित परिवारहरूले भान्सा र शौचालय प्रयोग गर्न नसक्ने अवस्था बनेको छ। विद्यालय जाने बालबालिका, वृद्ध तथा महिलाहरू विशेष रूपमा समस्यामा परेका छन्।

स्थानीयवासीले वर्षेनी दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि तत्काल नाला निर्माण र पूर्वाधार विकासमा पालिकाले प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार