पोखरियामा ब्राउन सुगरसहित एक युवक पक्राउ

पर्साको पोखरिया नगरपालिका–९ बाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले शनिबार राति छापा मारेर उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार राति करिब ११ः३० बजे पोखरिया–९ स्थित एक टहरामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त गरेपछि तत्काल प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रहरीले शंकास्पद स्थानमा खानतलासी गर्ने क्रममा ५ दशमलव ५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको जनाएको छ । बरामद गरिएको पदार्थ आवश्यक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जानकारी दिएको छ ।

कारबाहीका क्रममा स्थानीय अन्दाजी २० वर्षीय विशाल राउत कम्करलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय पोखरिया राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय पर्साका विभिन्न क्षेत्रमा लागुऔषध कारोबार तथा सेवन बढ्दै गएको गुनासो आएपछि विशेष निगरानी र अभियान सञ्चालन गरिएको छ । युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन तथा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको जनाएको छ ।

स्थानीयवासीले पनि लागुऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार