वीरगंजबाट सोमबार बेलुकी पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई विरुद्ध प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूरमा मुद्दा दर्ता गरेको छ ।
मंगलबार वीरगंजमा हुने कार्यक्रममा सहभागी हुन आएका प्रसाईलाई सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ गर्दा तत्काल कारण सार्वजनिक गरिएको थिएन ।

तर मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति जारी गर्दै प्रसाईविरुद्ध मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार विभिन्न जातजाति तथा समुदायबीचको सम्बन्धमा खलल पुर्याउने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार राति पक्राउका क्रममा उनका समर्थकहरूले विरोध जनाएका थिए, जसका कारण केहीबेर तनावको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । यस्तै मंगलबार समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनसमेत गरेका थिए ।



