शौचालय गएकी ७० वर्षीया वृद्धा पोखरीमा डुबेर मृत्यु

शौचालय गएकी ७० वर्षीया वृद्धा पोखरीमा डुबेर मृत्यु

पर्सा, ०८२ फागुन ३० गते

मधेश प्रदेशको ग्रामीण क्षेत्रमा अझै पनि शौचालय प्रयोगको अभाव र खुला दिसा गर्ने प्रवृत्तिका कारण दुःखद घटना दोहोरिने क्रम रोकिएको छैन। यसैक्रममा पर्साको छिपहमाई गाउँपालिकामा शौचालय गर्न बाहिर गएकी एक वृद्धाको पोखरीमा डुबेर मृत्यु भएको छ।

पर्सा जिल्लाको छिपहमाई गाउँपालिका वडा नं. २ चरगाहा निवासी रामचन्द्र साह कानुको श्रीमती ७० वर्षीया प्रभावती देवीको शुक्रबार बिहान करिब ३ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जानकारी अनुसार प्रभावती देवी बिहान सबेरै घरबाट बाहिर शौच गर्न जाने क्रममा अन्धकारका कारण बाटो नदेखेर घर नजिकै रहेको पोखरीमा खसेको आशंका गरिएको छ। बिहान स्थानीय बासिन्दा पोखरी नजिक पुग्दा उनको शव पानीमा देखेपछि परिवार र प्रहरीलाई खबर गरिएको थियो।

घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले वृद्धाको शव पोखरीमा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

नेपाल सरकारले देशलाई खुला दिसामुक्त घोषणा गरिसकेको भए पनि ग्रामीण क्षेत्रमा अझै पनि धेरै मानिसहरू बिहान सबेरै खेतबारी वा खुला स्थानमा शौच गर्न जाने प्रवृत्ति कायम रहेको देखिन्छ। घरघरमा चर्पी निर्माण गरिए पनि प्रयोगको कमी, जनचेतनाको अभाव तथा पुरानो बानीका कारण यस्ता दुर्घटना र जोखिमपूर्ण घटनाहरू हुने गरेको स्थानीयहरूले बताएका छन्।

यस घटनाले ग्रामीण क्षेत्रमा शौचालय प्रयोग र सरसफाइसम्बन्धी जनचेतना अझै बढाउन आवश्यक रहेको देखिएको छ। स्थानीय तह र सरोकारवालाहरूले सुरक्षित शौचालय प्रयोगको प्रवर्द्धन गर्न थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार