दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले) परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
थारुसहित पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा पार्टीमा समाहित भएका हुन्।

एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै थारुले पार्टी परिवर्तन गरेको जनाइएको छ। आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीको आश्वासनपछि थारु नेकपामा प्रवेश गरेको स्रोतले जनाएको छ।
थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै निर्वाचित भएका थिए। त्यसपछि भएका निर्वाचनमा उनी पर्सा ४(१) बाट प्रदेशसभा सदस्य पदमा पराजित हुँदै आएका थिए।
थारुको नेकपा प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ प्रभाव र तरङ्ग सिर्जना भएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।




