दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारुले नेकपा (एमाले) छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन्।
एमाले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै थारुले पार्टी छोड्ने निर्णय गरेका हुन्। पर्सा क्षेत्र नम्बर ४ का सयौँ नेता र कार्यकर्ताहरू समेत यससँगै नेकपामा सामेल हुने तयारीमा छन्। आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँंडामा विशेष समारोहमा उनीहरू औपचारिक रूपमा प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।

आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाउने आश्वासनका आधारमा थारुले पार्टी प्रवेशको निर्णय गरेका हुन् ।
थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए। त्यसयता पर्सा ४(१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका शङ्कर चौधरीसँग पराजित हुँदै आएका थिए।
उनको नेकपा प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ प्रभाव र तरङ्ग सिर्जना गर्ने अनुमान गरिएको छ।



