जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाका लागि मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० भित्र जिल्ला समितिमा, र जिल्ला समितिले पुस १५ भित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने व्यवस्था तोकिएको छ ।

प्रदेश समितिले पुस २० भित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डमा पठाउनेछ ।
समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट कम्तीमा तीन पुरुष र तीन महिला उम्मेदवार जातीय कलस्टरअनुसार समावेश हुने गरी प्रदेश समितिमा पुस १ भित्र नामावली पठाउने, र प्रदेश समितिले पुस ५ भित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा सिफारिस गर्ने व्यवस्था छ ।
सर्कुलरअनुसार, तोकिएको समयभित्र उम्मेदवारको नाम प्राप्त नभए वा हुन नसकेमा संसदीय बोर्डले स्वतः निर्णय गरी मनोनयन गर्न सक्नेछ । इच्छुक कुनै पनि योग्यता सम्पन्न पार्टी सदस्यले प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि सोझै आवेदन दिन सक्नेछन्, जसमा संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग परामर्श गरी अन्तिम निर्णय गर्नेछ ।



