वीरगञ्ज महानगरपालिकाले घण्टाघर नजिकको बिपी उद्यान पार्कमा वर्षौँदेखि सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजारमा डोजर चलाएर संरचना भत्काएको छ।
सार्वजनिक उद्यानलाई व्यवस्थित र हरित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत अस्थायी टहरा हटाइएको महानगरले जनाएको छ ।

महानगरका अनुसार वीरगञ्ज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौँ लगानीमा सुविधा सम्पन्न नयाँ थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत मंसिर २१ गतेदेखि सञ्चालनमा ल्याइसकिएको छ । नयाँ बजारमा खुद्रा र थोक कारोबार छुट्टाछुट्टै, फोहर व्यवस्थापन, पार्किङलगायत आवश्यक सुविधा उपलब्ध छन् ।
तर बिपी उद्यानमा व्यवसाय गर्दै आएका व्यापारीहरू नयाँ स्थानमा सर्न नमानेपछि पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै महानगर डोजर चलाउन बाध्य भएको बताइएको छ । बिहान ५ बजेदेखि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा घेरामा अस्थायी टहरा तथा संरचना भत्काइएको थियो। यस क्रममा व्यवसायीहरूले विरोध जनाउँदै केही समय सडक अवरुद्धसमेत गरेका थिए ।
फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष जगु साह तुराहाले पूर्वसूचना नदिई एकाएक डोजर चलाउँदा लाखौँ रुपैयाँ बराबरको ताजा तरकारी र सामग्री नष्ट भएको बताए। उनले छपकैयास्थित नयाँ बजार व्यवसायी र उपभोक्ताका लागि पायक नपर्ने दाबीसमेत गरे।



