पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२४ का २० वर्षीय युराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङको बेनीघाट–रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरी मगर र धादिङकै सिद्लेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज–१५ स्थित प्रतिमा चौकमा रोकिराखिएको सार्वजनिक इभी सवारी चेकजाँच गर्ने क्रममा दुई वटा सुटकेसभित्र लुकाइएका ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल फेला परेपछि दुई जनालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरूले दिएका बयानका आधारमा वीरगंज–२४ रामगढवामा भाडामा कोठा लिएर बस्दै आएका थप दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राजु कार्कीका जनाए । त्यही कोठामा खानतलासी गर्दा एक कार्टुनमा लुकाएर राखिएको १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको कार्कीले बताए ।
जम्मा ७६ हजार १७० पिस लागुऔषधसहित पक्राउ परेका चारैजनालाई पर्सा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।



