वीरगंज , मंसिर – २५
नागरिकता वञ्चितताका कारण उत्पन्न दुःखद परिस्थितिमा बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित सरकारी समितिले स्थलगत अध्ययन कार्य अघि बढाएको छ।

समितिका संयोजक सहसचिव सुरेश पन्थी नेतृत्वको टोली हिजो बढैयाताल गाउँपालिका–४ पुगेको छ। समितिले घटनास्थल निरीक्षण गर्दै पीडित परिवार, स्थानीय प्रतिनिधि तथा सरोकारवालासँग समग्र वस्तुस्थिति बुझ्ने उद्देश्यले सर्वपक्षीय छलफल गरेको हो ।
छानबिन समिति र स्थानीय निकायको सहकार्यमा ज्यान गुमाएकी अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता तथा आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ ।
समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले पीडित परिवारलाई आवश्यक सहजीकरण गर्दै घटनाबारे संरचित छानबिन सुरू गरिसकेको छ। बाँकी विवरण संकलन गरी प्रतिवेदनमा समेटिने उनले बताए ।
उक्त घटनापछि अञ्जुका श्रीमान् अनिल थारुमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको प्रहरीले जनाएको छ ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि अलगै रूपमा घटनाबारे अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल तथा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन गरिएको छ ।



