हितेन्द्रदेव शाक्य पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशक

सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले आजदेखि औपचारिक रूपमा कामकाज सुरु गरेका छन् । शाक्यले बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क–काठमाण्डौ पुगेर कार्यभार ग्रहण गरे ।

सरकारले गत असोज ५ गते शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै उनको स्थानमा मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सो निर्णय कानुनी आधारविहीन रहेको भन्दै सर्वोच्च अदालतले सोमबार मन्त्रिपरिषद्को निर्णय खारेज गरेको थियो। अदालतको आदेशसँगै शाक्य पुनः पूर्वपदमा फर्किएका हुन् ।

पदभार सम्हाल्दै शाक्यले प्राधिकरणको योजनालाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। सरकारका नीति–निर्देशनअनुसार संस्थागत हितलाई प्राथमिकतामा राख्दै काम गर्ने उनले स्पष्ट पारे।

उनका अनुसार आगामी साढे तीन वर्षलाई लक्ष्य–केन्द्रित अवधिका रूपमा उपयोग गर्दै प्राधिकरणको क्षमता तथा प्रभावकारिता बढाइनेछ। ऊर्जा मन्त्रालयसँग सहकार्य गर्दै उत्पादन, प्रसारण तथा वितरण क्षेत्रका कार्यसूचीलाई मजबुत रूपले अघि बढाउने योजनाको पनि उनले संकेत दिए।

शाक्यले प्राधिकरणले आफ्नै विद्युत परियोजनाहरू विकास गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै, संस्थागत बलियोपनका लागि दीर्घकालीन रणनीतिमा आफ्नो नेतृत्व केन्द्रित रहने बताए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार