चीनमा भ्रष्टाचार नियन्त्रण कडाइसँगै देशका शीर्ष सैन्य फर्महरूको राजस्वमा गिरावट आएको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदनअनुसार युक्रेन र गाजामा भएका युद्ध तथा विश्वव्यापी तनावका बाबजुद चीनका ठूला हतियार कम्पनीहरूको आम्दानी घटेको पाइएको छ ।
एसआईपीआरआईका निर्देशक नान टियानका अनुसार २०२४ मा भ्रष्टाचारका कारण प्रमुख हतियार सम्झौता स्थगित वा रद्द भएका थिए । यसले चीनको सैन्य आधुनिकीकरणमा अनिश्चितता बढाएको छ ।

प्रतिवेदनअनुसार गएको वर्ष चीनका शीर्ष सैन्य फर्महरूको राजस्व १० प्रतिशतले घटेको छ, जहाँ नोरिन्कोको राजस्व सबैभन्दा बढी ३१ प्रतिशत घटेर १४ अर्ब अमेरिकी डलरमा झरेको छ ।
अर्कोतर्फ, जापानका कम्पनीको ४० प्रतिशत, जर्मनीको ३६ प्रतिशत र अमेरिकी कम्पनीको ३.८ प्रतिशतले आम्दानी बढेको छ । विश्वका १०० ठूला हतियार कम्पनीको कुल राजस्व ५.९ प्रतिशत बढेर ६७९ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।



