बाराको प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा वीरगंज–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी ३२ वर्षीय प्रमोदसाह तुरहा रहेका छन्।
प्रहरीका अनुसार, गत बिहीबार राति फ्याक्ट्रीमा राजन र प्रमोदसाहले धारिलो हतियार र इँटाले प्रहार गरी सिंहलाई हत्या गरेका हुन्। उनका शव भोलिपल्ट बिहान फ्याक्ट्री नजिकै फेला परेको थियो।

सोधपुछमा खुलेको छ, राजनले गत वर्ष देखि म्यानेजरसँग मनमुटाव राख्दै आएका थिए। कात्तिक १० गते म्यानेजर सिंहले उनलाई कामबाट हटाएपछि दुबैजनाको रिस उम्लिएर हत्या योजनामा परिणत भएको प्रहरीको भनाइ छ। मंसिर ११ गते साँझ दुवैले रक्सी सेवन गरी फ्याक्ट्री पुगेका थिए र हत्या गरेका थिए।
हत्या पछि उनीहरूले शव फ्याक्ट्री नजिकैको खाल्डोमा फालेका थिए। राजन भारत भाग्ने क्रममा छिपहरमाई–५ बाट पक्राउ परे भने प्रमोद साह वीरगंजमै लुकिरहेको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरूको साथबाट रगत लागेको छुरा र इँटा बरामद गरिएको छ।
दुवै प्रतिवादीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई बारा जिल्ला अदालतले सात दिनको म्याद थपेको छ। घटनापछि प्रहरी छिटो अनुसन्धानमा लाग्दै १६ घण्टा भित्रै आरोपित दुईजनालाई पक्राउ गर्न सफल भएको थियो।



