पर्सा प्रहरीले नयाँ नेतृत्व आएसँगै जिल्लामा अपराध नियन्त्रण र अवैध गतिविधि रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेको एक महिनामै प्राप्त उपलब्धिहरू समेटिएको कार्यसम्पादन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो ।
कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा विभिन्न मुद्दामा फरार १ सय ८४ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूले तिर्नुपर्ने ६ लाख २ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय कार्यान्वयन भएको प्रहरीले जनाएको छ ।

यही अवधिमा ३ करोड ७५ लाख रुपैयाँ बराबरका भन्सार छली गरिएका सामग्री बरामद गरिएको छ ।
सीमाक्षेत्रमा निगरानी कडा बनाएपछि चोरी–पैठारीमा नियन्त्रण आएको पर्सा प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रणतर्फ, प्रहरीले विशेष सुराकी र निगरानीमार्फत २७ किलो ४८० ग्राम गाँजा बरामद गरी चार जनालाई पक्राउ गरेको छ ।
अवैध गतिविधिमाथि कडाइ गर्दै प्रहरीले ५ सय लिटर घरेलु तयारी मदिरा नष्ट गरेको छ । त्यस्तै, अनधिकृत रूपमा उत्खनन भइरहेको बालुवासहित पाँचवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।
वन अपराध नियन्त्रण अभियानमा ६१.५ क्युबिक फिट सालको काठ बरामद भएको छ, जसको मूल्य करिब दुई लाख ६६ हजार रुपैयाँ बराबर पर्छ ।
यस अवधिमा हराइएका नौ जनामध्ये दुई महिला र सात बालिका फेला पारेर अभिभावकको जिम्मामा बुझाइएको छ। साथै, थप दुई बालिकाको पनि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
पर्सा प्रहरीले आगामी दिनमा जनसुरक्षा, अपराध नियन्त्रण र अवैध गतिविधि रोकथामका अभियानलाई झन् प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।



