कम्पाइनको ठक्करबाट बारामा एकजनाको मृत्यु : एकजना घाईते

बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटना सोमबार राति महागढीमाई नगरपालिका–१२ बरियार इनर्वा चोक नजिकैको धरमपुर भुतही पुल आसपासमा भएको हो। मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्पाइन मेसिनले सोनारले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सँगै सवार उनका साला, बाराको कोल्हवी बजारका २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।

रुपेशले चलाएको अपाची मोटरसाइकल ठक्करपछि जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। कम्पाइन मेसिनका चालक फरार रहेका छन् भने उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार