बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आउनुअघि देशभर हिंसा फैलिएको छ। विभिन्न स्थानमा गाडीमा आगजनी, तोडफोड तथा रुख ढालेर सडक अवरुद्ध गरिएका घटनाहरू भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
बढ्दो तनाव नियन्त्रण गर्न अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बल परिचालन गरेको छ। ढाका प्रहरीलाई आवश्यक परे गोली चलाउने आदेश पनि दिइएको छ। हिंसा शनिवार रातिदेखि सुरु भएको थियो र अदालतको फैसला पछि अझ बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारी वकिलले हसिनाविरुद्ध हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्ध अपराधसहित पाँच गम्भीर आरोपमा मुद्दा दायर गर्दै मृत्युदण्ड माग गरेका छन्। अदालतले हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र तत्कालीन आईजीपी चौधरी अब्दुल्लाह अल मामूनको मुद्दामा फैसला सुनाउने तयारी गरेको छ।
तपाईको प्रतिक्रिया



