सखुवाप्रसौनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ प्रयोग गरेपछि वडा नं १ मधुवन मथवलका किसानहरूको बाली बिग्रिएको छ। स्थानीय किसानहरूले लगाएका मकैमा दाना नलाग्ने, दाना आएको भए पनि फाटफुट हुने र सुक्ने समस्या देखा परेको गुनासो गरेका छन्।
किसान सुरेन्द्र महतोले अनुदानमा प्राप्त मकैको बीउमा मात्र यस्तो समस्या आएको बताए। “५० प्रतिशत अनुदानमा पाएको मकैको दाना नलाग्यो, दाना आए पनि फाटफुट भयो र सुक्यो,” उनले भने।

गाउँपालिकाले सन्दीप एग्रोसँग सम्झौता गरेर ५० प्रतिशत अनुदानमा मकैको बीउ किसानलाई उपलब्ध गराएको थियो। वडाध्यक्ष वासुदेव महतोका अनुसार, बीउ वितरण गर्ने सप्लायर्सले किसानलाई पुगेको क्षतिको भरपाई गर्नुपर्नेछ।
कृषि शाखाका प्राविधिक दयाराम वाग्लेले पनि समस्याको जिम्मेवारी सप्लायर्समा रहेको बताएका छन्।
किसानहरूले यसबारे तीन–चार पटक वडा कार्यालयमा बैठक गरे पनि अहिलेसम्म समस्या समाधान भएको छैन।



