बर्दिबास – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार बुझाएको छ।
अख्तियार बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रतिवेदन बुझाउँदै सो आर्थिक वर्षमा ३ हजार ४८ उजुरी दर्ता भएको र जिम्मेवारी सरेका ९२३ उजुरीसहित कुल ३ हजार ९७१ उजुरी दर्ता भएको जानकारी दिएका छन्।

कुल उजुरीमध्ये २ हजार ९१० उजुरी फर्छ्यौट भएका छन् भने बाँकी १ हजार ६१ उजुरी आर्थिक वर्ष २०८२/०८३ मा छानबिनका लागि सरेको अख्तियारले जनाएको छ।
प्रतिवेदन अनुसार, उजुरीमध्ये घुस–रिसवत सम्बन्धी ३७ वटा, गैरकानूनी हानी–लाभ सम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानी–नोक्सानी सम्बन्धी २४ वटा, र गैरकानूनी सम्पत्ति अर्जन सम्बन्धी ८ उजुरी रहेका छन्।
यी उजुरीहरूमा ६१९ पुरुष, ९४ महिला र ४ सङ्घसंस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवाना गरिएको छ। जरिवानामार्फत ६ अर्ब १ करोड ८४ लाख ७२ हजार रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।



