पूर्वमन्त्री अफताब आलमको पार्थिव शरीर जन्मगाउँ राजपुर ल्याइयो

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री स्व. मोहम्मद अफताब आलमको पार्थिव शरीर आज बिहान काठमाडौँबाट रौतहटस्थित जन्मगाउँ राजपुर नगरपालिका–४, राजपुरमा ल्याइएको छ।

केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रस्त ६३ वर्षीय आलमको बुधबार बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको थियो। उनको पार्थिव शरीर आज विहानै विशेष सवारीमार्फत रौतहट पुर्‍याइएको हो।

रौतहट क्षेत्र नं–२ का लोकप्रिय नेता रहेका स्व. आलमको आगमनसँगै राजपुर गाउँमा शोकको वातावरण छ। स्थानीय बासिन्दा, राजनीतिक दलका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू अन्तिम दर्शनका लागि ठूलो संख्यामा भेला भएका छन्।

स्व. आलमले २०५६ र २०६४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट सहयोगीका रूपमा चिनिन्थे। श्रम तथा रोजगारमन्त्रीका रूपमा कार्यसम्पादन गरेका उनले मधेसी–मुस्लिम समुदायको सशक्त आवाजको रूपमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका थिए।

२०७६ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा पक्राउ परेपछि उनी करिब ६ वर्ष जेलमा रहेका थिए। पछि स्वास्थ्य अवस्था बिग्रिएपछि केएमसीमा उपचार भइरहेकै बेला उनको निधन भएको परिवारले जनाएको छ।

उनको अन्त्येष्टि राजपुरमै धार्मिक परम्परा अनुसार सम्पन्न गरिने तयारी गरिएको छ। नेपाली कांग्रेस, स्थानीय राजनीतिक नेतृत्व र मुस्लिम समुदायले आलमको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार