पंचगावाँ — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ स्थित पथलवाघाट क्षेत्रबाट अबैधरुपमा सालको काठ तस्करी गर्ने प्रयास विफल भएको छ। प्रहरीले गस्तीका क्रममा साइकलबाट झण्डै ४ क्युफिट बराबरको सालको काठ बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार २०८२ साउन २२ गते राति गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि तस्कर काठसहितको साइकलबाहेक फरार भएका थिए। प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएअनुसार तस्करले जंगलतर्फबाट गदियानीतर्फ काठ लादेर लैजाने प्रयास गरिरहेको आशंका गरिएको छ।

प्रहरीले सालको काठ र साइकलबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। हाल फरार तस्करको खोजी जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीहरूका अनुसार पथलवाघाट क्षेत्र तस्करीका लागि जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ।
तपाईको प्रतिक्रिया



