अनियमितता आरोपमा तत्कालीन अधिकृतसहित तीनविरुद्ध मुद्दा

पर्साको पोखरिया नगरपालिकामा कागजात सच्याएर अपांगता परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटाैँ तहका संजयकुमार पाण्डेय, अपांग शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवट र सामाजिक सुरक्षा भत्ता लिने महेन्द्र राउत कुर्मीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।

नगरपालिकाका कर्मचारी र सेवाग्राहीको मिलेमतोमा अपांगताको परिचयपत्र हेरफेर गरी सरकारी रकम दुरुपयोग भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तत्कालीन अधिकृत पाण्डेय र कर्मचारी खुलवटले प्रतिवादी महेन्द्र राउत कुर्मीसँगको मिलेमतो र योजनामा बदनियत राखेर सरकारी अभिलेख सच्याएको अख्तियारले जनाएको छ।

कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा पोखरिया नगरपालिकाको अपांगता समन्वय समितिको २०७८ असोज ११ गतेको बैठकले निजलाई ‘ग’ वर्गको अपांगता वर्गीकरण गरेको थियो। कार्यविधिअनुसार उक्त वर्गको कार्ड पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्।

तर, आरोपीहरूले सो कुरा थाहा पाउँदापाउँदै सरकारी सार्वजनिक अभिलेखमा रहने लिखत बदनियतपूर्वक केरमेट र सच्याउने कार्य गरेका आरोपपत्रमा उल्लेख छ। उनीहरूले भत्ता पाउने वर्ग ‘क’ अर्थात् रातो कार्ड बनाएर गलत लिखत तयार एवं प्रमाणित गराई कुल १ लाख ९१ हजार ५२० रुपैयाँबराबरको गैरकानुनी लाभ लिए दिएको अख्तियारले जनाएको छ।

सरकारी कोषको रकम हिनामिना गर्ने कार्यमा संलग्न देखिएकाले उनीहरूविरुद्ध सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार