पर्सामा मोहरम (दाहा/ताजिया) पर्वमा हातहतियार र भाँठा प्रदर्शन निषेध, तोकिएको रुटमै जुलुस निकाल्न निर्देशन

वीरगन्ज, असार ११ — पर्सा प्रशासनले मोहरम (दाहा/ताजिया) पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न गराउन दाहा जुलुसमा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार तथा भाँठा प्रदर्शन गर्न नपाइने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल को अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मोहरम पर्वको सुरक्षालाई लक्षित गर्दै उक्त निर्णय गरेको हो। बैठकले वीरगन्जसहित जिल्लाका सबै स्थानमा निकालिने दाहा जुलुसमा हातहतियार तथा भाँठा प्रदर्शनमा रोक लगाउनुका साथै डिजे वा अन्य बाजामार्फत उच्च ध्वनि प्रदूषण गर्न नपाइने व्यवस्था गरेको छ।

बैठकले स्थानीय प्रशासनले तोकेको मार्गबाट मात्रै दाहा जुलुस सञ्चालन गर्नुपर्ने, कुनै पनि धार्मिक समुदायको आस्था, भावना तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि नगर्नुपर्ने र जुलुसको नेतृत्व सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिले गर्नुपर्ने निर्णय गरेको छ। साथै धार्मिक सहिष्णुतामा प्रतिकूल प्रभाव पार्ने गरी विदेशी झण्डा, छाप अंकित टिसर्ट, लोगो वा अन्य सामग्री प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा समुदायबीच वैमनस्यता वा भ्रम फैलाउने खालका उत्तेजक पोस्ट, तस्बिर तथा भिडियो साझेदारी नगर्न बैठकले सबै पक्षलाई अनुरोध गरेको छ। जुलुसका क्रममा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि वा कुनै विवाद उत्पन्न भएमा दुवै समुदायका अगुवाले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमति पनि भएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार पर्व अवधिभर मुस्लिम समुदायको तर्फबाट महबुब अली र हिन्दु समुदायको तर्फबाट रंजीत शाह सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वयमा रहनेछन्। उनीहरूले मोहरम पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने सहमति भएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार