लामो समयदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनका लागि पर्साका व्यवसायी प्रदीप जैसवाल, कानुनका विद्यार्थी अर्जुन साह र राजन पटेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गरेका छन्।
ज्ञापनपत्रमा चिनी मिल बन्द हुँदा उखु किसान, मजदुर र क्षेत्रीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव औंल्याइएको छ। पत्रमा उच्चस्तरीय अध्ययन समिति गठन गरी मिलको अवस्था, सम्भाव्यता र चुनौतीहरूको मूल्यांकन गर्न, उद्योग सञ्चालनका लागि लगानी र प्रविधिको खाका तयार गर्न, किसानको हित सुनिश्चित गर्ने नीति ल्याउन, सार्वजनिक–निजी साझेदारी (PPP) मोडल वा अन्य विकल्पको खोजी गर्न र क्षेत्रीय रोजगारी तथा आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

प्रतिनिधिहरूले बताएका छन् कि मिल पुनः सञ्चालनमा आएमा स्थानीय अर्थतन्त्रमा सुधार आउनेछ र कृषक तथा श्रमिकको जीवनस्तर उकास्न मद्दत पुग्नेछ। यसपटकको पहलले सरकारलाई ठोस कदम चाल्न दबाब दिने अपेक्षा गरिएको छ।



