सर्लाहीको धनकौल गाउँपालिका–५ पासवान टोलमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हरिवनस्थित इन्दुशंकर चिनी मिलमा उखु अनलोड गरी फर्किँदै गरेको ज १ त ७०१३ नम्बरको ट्याक्टर नहरमा खस्दा चालक धनकौल गाउँपालिका–४ महिनाथपुरका ३० वर्षीय अरुण राय यादवको ज्यान गएको हो।
शनिबार बिहान स्थानीयले नहरमा ट्याक्टर पल्टिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार घटनास्थलमा पुग्दा ट्याक्टरको इन्जिनले च्यापिएर चालकको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।

एकान्त गाउँ सडकमा राति दुर्घटना भएको अनुमान गरिएको छ। शनिबार बिहान खेततिर गएका स्थानीयले देखेपछि मात्र घटनाबारे जानकारी भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।
दुर्घटनाग्रस्त ट्याक्टर नहरबाट निकालेर प्रहरी नियन्त्रणमा राखिएको छ। बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यता कम भएकाले सवारी साधन सावधानीपूर्वक, बत्ती बालेर र गति सीमित गरी चलाउन प्रहरीले आग्रह गरेको छ।



