लागूऔषध नियन्त्रणमा आक्रामक बन्दै प्रहरी निरीक्षक पौडेल

पर्साको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल लागूऔषध नियन्त्रण अभियानलाई आक्रामक रूपमा अगाडि बढाइरहेका छन्। प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटिएको विशेष टोलीको सक्रियताले लागूऔषध कारोबारमा संलग्न समूहमा त्रास फैलिएको छ।

मकवानपुरबाट जंगलको बाटो हुँदै लागूऔषध ओसारपसार गर्ने भरियामाथि प्रहरी निरीक्षक पौडेलको टोलीले सूक्ष्म निगरानी बढाएपछि कारोबारीहरूमा डरको वातावरण सिर्जना भएको बताइएको छ। हेरोइन, गाँजा, ट्याब्लेटलगायत कुनै पनि प्रकारका लागूऔषधको कारोबार तथा ओसारपसारबारे सुराकीका आधारमा सूचना संकलन गरी नियन्त्रणमा लिने र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने कामलाई प्रहरीले प्राथमिकतामा राखेको छ।

प्रहरी निरीक्षक पौडेलकै नेतृत्वमा खटिएको टोलीले मंगलबार १ सय ९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। विशेष चेकजाँचका क्रममा वीरगंज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा १९ च ५७३८ नम्बरको बोलेरो पिकअपलाई रोकेर खानतलासी गर्दा त्रिपालले छोपेर प्लास्टिकमा प्याक गरिएका आठ वटा पोकाबाट १ सय ९ किलो गाँजा बरामद गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ।

यसअघि पनि प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा विभिन्न स्थानबाट लागूऔषध बरामद गर्नुका साथै कारोबारीहरूलाई पक्राउ गरी कानुनी कारबाहीका लागि अदालतमा पेश गरिएको छ।

प्रहरी निरीक्षक पौडेलका अनुसार ग्रामीण क्षेत्रमा भेटिएका लागूऔषध सेवनकर्तालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाउने, बढी मात्रामा सेवन गर्नेहरूलाई उद्धार गरी सुधार केन्द्रमा पठाउने तथा कारोबारमा संलग्न वा ठूलो परिमाणमा सेवन गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाउने काम इलाका प्रहरी कार्यालय पोखरियाले गर्दै आएको छ।

उनले विद्यालयहरूमा लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई दुर्व्यसनबाट जोगाउन विभिन्न सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको बताए। लागूऔषध नियन्त्रणका लागि प्रहरी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै जाने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार