वीरगंजमा सडक सीमाभित्रका संरचना हटाउन सडक डिभिजनको अन्तिम अल्टिमेटम

सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंजको मुख्य सडक खण्डमा पर्ने संरचना हटाउन अन्तिम चेतावनी जारी गरेको छ । मंगलबार सार्वजनिक गरिएको अत्यन्त जरुरी सूचनामार्फत कार्यालयले त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक क्षेत्रमा रहेका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।

कार्यालयले सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमा भित्र पर्ने घर, टहरा तथा अन्य निर्माणहरू तत्काल खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालयले २०८३ वैशाख ६ गतेदेखि नै सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको जनाएको छ । तर हालसम्म पनि कतिपय स्थानमा क्षतिग्रस्त भवनभित्र मानिस बसोबास गरिरहेको तथा व्यवसाय सञ्चालन भइरहेको पाइएको भन्दै जोखिमप्रति सचेत गराइएको छ ।

सूचनामा यस्तो अवस्थामा कुनै दुर्घटना वा अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।

साथै सडक सीमाभित्र रहेका संरचना पाँच दिनभित्र स्वेच्छाले नहटाइए सडक ऐन, २०३१ अनुसार कार्यालयले नै बलपूर्वक हटाउने तथा भत्काउने चेतावनीसमेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार