राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनबाट हरि पन्त नयाँ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धामा उनले सुशील साह कानुलाई पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
निर्वाचन परिणामअनुसार पन्तले १६६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कानुले ११८ मत पाए। यससँगै पन्तले आगामी कार्यकालका लागि जिल्ला समितिको नेतृत्व गर्ने भएका छन्।

उपसभापतिमा दिलिपकुमार कुर्मी १६२ मतसहित विजयी भए भने रणदिप श्रीवास्तव ११४ मतमा सीमित रहे। सचिव पदमा सुदिशकुमार प्रजापति १६० मत प्राप्त गर्दै निर्वाचित हुँदा शिवकुमार साहले ११६ मत पाए।
सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी निरजकुमार साहले ११३ मत प्राप्त गरेका छन्।
त्यसैगरी सदस्य पदमा प्रियंका कुमारी कुर्मी, तुलसा पौडेल अधिकारी, कामोध्या चौधरी, पूर्णबहादुर सापकोटा र शशीदेवी थरुनी निर्वाचित भएका छन्।
निर्वाचन संयोजक डा. नन्दन यादवले मतदान र मतगणना प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन्। केही दिनदेखि चर्चामा रहेको पर्सा जिल्ला अधिवेशन अन्ततः नयाँ नेतृत्व चयनसँगै टुंगिएको छ।



