अधिवेशनअघि रास्वपा पर्सामा विवाद उत्कर्षमा, दुई पक्षबीच झडप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन हुन एक दिन बाँकी रहँदा पार्टीभित्रको आन्तरिक विवाद झन् चर्किएको छ। शनिबार अधिवेशनको तयारीका क्रममा दुई पक्षबीच भएको झडपमा केही कार्यकर्ता घाइते भएका छन्।

जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियालाई लिएर लामो समयदेखि असन्तुष्टि देखिँदै आएको थियो। असन्तुष्ट पक्षले प्रतिनिधि चयनमा विधान र प्रक्रिया मिचिएको आरोप लगाउँदै अधिवेशन स्थगित गर्न माग गरेको छ। उनीहरूले मधेश प्रदेश नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने माग समेत गरेका छन्।

विवादका बीच रास्वपा नेता सुधिर पटेलले जिल्ला सभापति हरि पन्त पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाउन खोजेको आरोप लगाएका छन्। उनले पदाधिकारी चयनमा आफ्नो समूहलाई पाखा लगाउने प्रयास भएको दाबी गरेका छन्।

यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने केही समूहले नियोजित रूपमा अधिवेशन बिथोल्न खोजेको आरोप लगाएका छन्। पार्टीको विधानअनुसार सबै प्रक्रिया पूरा भएको भन्दै उनले निर्धारित मितिमै अधिवेशन सम्पन्न हुने बताएका छन्।

रास्वपा पर्सामा हाल हरि पन्त नेतृत्वको समूह र सांसद सुशील साह कानु, रमाकान्त चौरसिया तथा टेकबहादुर शाक्य निकट समूहबीच शक्ति संघर्ष देखिएको छ। जिल्ला सभापतिको दौडमा हरि पन्त र सुशील साह कानु प्रमुख दाबेदार मानिएका छन्।

आन्तरिक विवादका बाबजुद आइतबार हुने जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र राजनीतिक सरगर्मी बढेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार