चीनले ताइवान भ्रमणमा संलग्न न्युजिल्यान्डका चार जना सांसदलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ।
न्युजिल्यान्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ती सांसदहरू मे महिनामा ताइवान भ्रमण गरेर फर्किएपछि प्रतिबन्धबारे जानकारी पाएका थिए। चिनियाँ दूतावासले माफी मागेमा प्रतिबन्ध हटाउन वा घटाउन सकिने संकेत दिएको छ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै विदेशी भ्रमणलाई संवेदनशील विषयका रूपमा लिने गरेको छ। यो पहिलो पटक हो जब न्युजिल्यान्डका सांसदमाथि चीनले यात्रा प्रतिबन्ध लगाएको हो।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यस घटनाप्रति आश्चर्य व्यक्त गरेका छन्। सांसदहरूले भने दशकौँदेखि ताइवान भ्रमण हुँदै आएको र यो न्युजिल्यान्डको ‘एक चीन नीति’सँग मेल खाने दाबी गरेका छन्।
यसैबीच चिनियाँ दूतावासले सांसदहरूले चीनको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गरेको कारण प्रतिबन्ध लगाइएको जनाएको छ।



