विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालको आयोजनामा बुधबार वीरगंजमा जनचेतनामूलक साइकल र्याली सम्पन्न भएको छ। जीवन ज्योति स्कुलको सहकार्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन र्याली निकालिएको हो।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न र्यालीमा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी, सञ्चारकर्मी, शिक्षक तथा कक्षा ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो।

जीवन ज्योति स्कुलबाट सुरु भएको र्याली घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, घडिअर्वा पोखरी हुँदै माइस्थानमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा हरियो झण्डा देखाएर र्यालीको उद्घाटन गरिएको थियो।
कार्यक्रममा ट्राफिक प्रमुख कटुवालले वातावरण संरक्षण सबैको साझा दायित्व भएको भन्दै सचेतना आवश्यक रहेको बताए। आयोजकले ‘हरियो, सफा र स्वस्थ वीरगंज’ अभियानलाई सशक्त बनाउन र वातावरणप्रति जनचेतना फैलाउन र्याली आयोजना गरिएको जनाएको छ।



