कटहरिया नगरपालिकामा दुई वर्षदेखि तलब नपाएको भन्दै कर्मचारी आन्दोलनमा

रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले करिब दुई वर्षदेखि तलब नपाएको भन्दै आन्दोलन जारी राखेका छन्। जेठ ११ गतेदेखि सुरु भएको आन्दोलनअन्तर्गत कर्मचारीहरूले नगरपालिकाका विभिन्न शाखामा तालाबन्दी गरेका छन्।

सुरुमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बाहेक अन्य सबै कक्षमा तालाबन्दी गरिएको थियो। माग सम्बोधनतर्फ कुनै पहल नभएपछि कर्मचारीहरूले सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्।

आन्दोलनरत कर्मचारीहरूका अनुसार लामो समयदेखि तलब नपाउँदा आर्थिक तथा मानसिक समस्या बढ्दै गएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा नगरपालिकाले एक–दुई महिनाको तलब मात्र उपलब्ध गराउने गरेको र मूल समस्या समाधान नगरेको उनीहरूको गुनासो छ।

यसबीच नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै क्यान्सर रोगसँग जुधिरहेका छन्। भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत बरैलाई लामो समयदेखि तलब नपाउँदा उपचार खर्च जुटाउन समस्या भइरहेको परिवारले जनाएको छ। उनी करिब २० महिनाको तलब पाउन बाँकी रहेको बताइएको छ।

आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित भएको छ। कर्मचारीहरूले बाँकी तलब भुक्तानीको स्पष्ट व्यवस्था नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार