राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतृत्व तथा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
लामिछानेसहित सहमहामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहभागी प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका नेतासँग पनि छलफल गरेको हो।

भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक अभ्यासको आदानप्रदान, संगठन निर्माण, सुशासन तथा नयाँ पुस्ताको नेतृत्व विकासका विषयमा विचार विमर्श भएको जनाइएको छ।
त्यसैगरी भारतीय गृहमन्त्री अमित शाहसँग भएको वार्तामा दुई देशबीचको अन्तरदेशीय कनेक्टिभिटी विस्तार, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा संयुक्त संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको बताइएको छ।
रास्वपाले यी भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका राजनीतिक दलबीच संवाद र सहकार्यको नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।



