मेयर राजेशमान सिंह धरौटीमा रिहा गर्न अदालतको आदेश

पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

नागरिकता तथा लिखत किर्ते सम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ परेका मेयर सिंहलाई अदालतले मंगलबार बयान तथा थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी तोकिएको छ।

मेयर सिंहलाई मंगलबार बिहान पर्साको ठोरीस्थित जंगल रिसोर्टबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

मुद्दामा बहसपछि मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नागरिकता किर्ते आरोपमा मेयर सिंहसहित उनकी पत्नी र स्थानीय पञ्जिकाधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। अदालतले आवश्यक प्रक्रिया पूरा गरेपछि धरौटी बुझाउने काम सुरु भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार