पर्साको छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका संजीव साहको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले प्रमुख प्रशासकीय अधिकृत साहको कार्यकाल सफल रहोस् भन्दै गाउँपालिकाको समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । साथै लामो समयदेखि रोकिएको केही कर्मचारीहरूको ८ देखि ९ महिनासम्मको तलब भुक्तानी छिट्टै पूरा होस् भन्ने अपेक्षा पनि राखिएको छ ।

त्यसैगरी स्थानीयवासीहरूले गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, मठ–मन्दिर, नहर, पर्ती, परात तथा एलानी जग्गाको संरक्षण र व्यवस्थापनका लागि शीघ्र निकास निकाल्न आग्रह गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा बोल्ने सहभागीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट सुशासन, पारदर्शिता र विकास निर्माणका कामलाई गति मिल्ने अपेक्षा व्यक्त गरेका छन् ।



