मधेसमा एचआइभी सङ्क्रमणको दबाब बढ्दो, पर्सा सबैभन्दा अगाडि

मधेस प्रदेशमा एचआइभी एड्स नियन्त्रणका प्रयास जारी रहे पनि सङ्क्रमणको अवस्था अझै गम्भीर देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेसभर ४ हजार ६ सय ८० जना सङ्क्रमित एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा रहेका छन् ।

सबैभन्दा बढी सङ्क्रमित पर्सा जिल्लामा भेटिएका छन् । पर्सामा मात्रै १ हजार ५ सय ४ जना उपचाररत छन् भने धनुषा, सर्लाही, सिराहा, रौतहट, महोत्तरी, बारा र सप्तरीमा पनि सङ्क्रमितहरूको संख्या उल्लेख्य रहेको छ ।

परीक्षणको दायरा बढ्दै गए पनि नयाँ सङ्क्रमित भेटिने क्रम रोकिएको छैन । चालु वर्ष ४ सय ७९ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् भने विगत वर्षको तुलनामा परीक्षण संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोग सङ्क्रमण फैलिनुका प्रमुख कारण हुन् ।

यस वर्ष १६ जना गर्भवती महिलामा सङ्क्रमण देखिएको छ भने १८ वर्षमुनिका १ सय ७५ बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये केही बालबालिका अभिभावकविहीन अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनचेतना, परीक्षण र उपचार सेवाको पहुँच अझ विस्तार नगरे सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बन्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार