हरपतगंज सडक निर्माण अलपत्र: भुक्तानी विवाद, स्थानीय अवरोध र अदालतका आदेश बाधक

वीरगंज , १५ बैशाख –

वीरगंज महानगरअन्तर्गत हरपतगंजमा सञ्चालित सघन शहरी तथा भवन निर्माण आयोजनाको सडक निर्माण कार्य १७ करोड रुपैयाँ भुक्तानी विवाद, स्थानीय अवरोध र अदालतका अन्तरिम आदेशका कारण प्रभावित बनेको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना, पर्साका अनुसार स्वच्छन्द–पप्पु–युनाइटेड बिल्डर्स संयुक्त उपक्रमले पेश गरेको करिब १७ करोड रुपैयाँ बराबरको बिल आर्थिक वर्ष २०८० असार २२ गतेदेखि भुक्तानी हुन सकेको छैन । बजेट अभावका कारण रकम रोकिएको जनाइएको छ ।

निर्माण कम्पनीका अनुसार सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी हुनुपर्ने भए पनि लामो समयदेखि रकम नपाउँदा निर्माण कार्यमा असर परेको छ।

२०७५ सालमा १७ वटा सडक निर्माणको जिम्मा पाएको संयुक्त उपक्रमले हालसम्म १२ वटा सडक मात्र सम्पन्न गरेको छ । बाँकी सडक निर्माण साइट क्लियरेन्स अभाव, स्थानीय अवरोध र कानुनी जटिलताका कारण रोकिएको बताइएको छ ।

सडक क्षेत्रमा रहेका घर–टहरा नहटाइएको, ५३६ वटा विद्युत पोल व्यवस्थापन नभएको तथा केही स्थानमा स्थानीयवासीले अदालतबाट अन्तरिम आदेश लिएकाले निर्माण कार्य अघि बढ्न नसकेको निर्माण पक्षको दाबी छ ।

करिब ७५ प्रतिशत काम सम्पन्न भए पनि बाँकी करिब ३ किलोमिटर सडक अहिले अलपत्र रहेको छ। पटक–पटक जानकारी गराउँदा पनि समाधान नआएको निर्माण कम्पनीले जनाएको छ ।

यता, आयोजना कार्यालयले साइट उपलब्ध नहुनु, स्वीकृत डिजाइन कार्यान्वयनमा समस्या तथा अदालतका आदेशका कारण काम अघि बढाउन कठिन भएको जनाएको छ ।

भुक्तानी विवाद, अदालतका आदेश र स्थानीय अवरोधका कारण हरपतगंज क्षेत्रको सडक निर्माण लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार