वीरगंज , १५ बैशाख –
मधेस प्रदेशमा आत्महत्या समस्या गम्भीर सामाजिक सङ्कटका रूपमा देखिएको छ। पछिल्ला तीन वर्षमा मात्रै ३ हजार ३४८ जनाले आत्महत्या गरेको तथ्याङ्कले अवस्था भयावह बन्दै गएको संकेत गरेको छ भने चालु आर्थिक वर्षमै ७९३ जनाको ज्यान गइसकेको छ।

यस वर्ष आत्महत्या गर्नेमा महिला (३०४) र पुरुष (२८२) सँगै २०७ बालबालिका रहेका छन्, जसमा बालिकाको संख्या उल्लेख्य रूपमा बढी छ। यसले पारिवारिक र सामाजिक दबाबका गहिरा आयाम उजागर गरेको सरोकारवालाहरू बताउँछन्।
जिल्लागत रूपमा सिराहा, धनुषा, सर्लाही र रौतहटमा उच्च दर देखिएको छ भने पर्सामा तुलनात्मक रूपमा कम घटना दर्ता भएका छन्। अघिल्ला वर्षहरूमा पनि अवस्था सुधार हुन नसकेको देखिन्छ, जसले दीर्घकालीन समाधानको आवश्यकता औँल्याउँछ।
विश्लेषणअनुसार बेरोजगारी, आर्थिक अभाव, पारिवारिक विवाद, दाइजो प्रथा, प्रेम सम्बन्धमा असफलता र लागुऔषध दुरुपयोग आत्महत्याका प्रमुख कारण बनेका छन्। महिलामा घरेलु हिंसा र सामाजिक दबाब प्रमुख जोखिम कारक देखिन्छ भने पुरुषमा आर्थिक जिम्मेवारी र वैवाहिक तनावले समस्या बढाएको छ।
मधेस प्रदेश सरकारका अधिकारीहरूले आत्महत्या नियन्त्रणलाई प्राथमिकतामा राख्दै स्थानीय तहको सक्रियता, जनचेतना विस्तार र मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
साथै, सामाजिक विभेद न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेसम्म समस्या नियन्त्रण कठिन हुने निष्कर्ष निकालिएको छ।



