भारतीय चर्चित पार्श्व गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो।
कार्डियक अरेस्टपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन्। निधनको समयमा उनी ९२ वर्षकी थिइन्।

महाराष्ट्रमा सन् १९३३ मा जन्मिएकी भोसलेले बाल्यकालदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पारिवारिक जिम्मेवारीका कारण सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी उनले करिअरलाई निरन्तरता दिँदै अगाडि बढाएकी थिइन्।
सन् १९४३ मा मराठी चलचित्रबाट पार्श्व गायन सुरु गरेकी उनले सन् १९४८ मा हिन्दी चलचित्र ‘चुनरिया’ मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनी निरन्तर रूपमा संगीत क्षेत्रमा सक्रिय रहिन्।
गजल, भजन, शास्त्रीय र पप संगीतमा समान रूपमा योगदान दिएकी भोसलेलाई विश्वकै धेरै स्टुडियो रेकर्डिङ गर्ने कलाकारमध्ये एकका रूपमा गिनीज वर्ल्ड रेकर्ड्सले समेत मान्यता दिएको छ।
उनले २० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ उनका चर्चित गीत हुन्।



