संसद्को पहिलो अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि बोलाइएको छ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिको तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने राष्ट्रियसभा कक्षमै बस्नेछ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाइनेछ। प्रतिनिधिसभाको नियमावली नबन्दासम्म हालकै नियमावली अनुसार बैठक सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

यसअघि बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन आउँदो आइतबार गर्ने निर्णय गरेको छ। संविधानअनुसार पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सभामुख र उपसभामुखमध्ये एक महिला र दुवै फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार