पर्साको सखुवा प्रसौनी गाउँपालीकामा १६औं गाउँ सभा सम्पन्न

पर्सा, ३० पुस। सखुवा प्रसौनी गाउँपालिकाको १६ औँ अधिवेशन बुधबार गाउँपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवसहित वडा नं. १ का अध्यक्ष बसुदेव महतो थारु, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं. ३ का प्रतिनिधि मोजामिल अन्सारी, वडा नं. ४ का अध्यक्ष मोहम्मद आरिफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव तथा वडा नं. ६ का अध्यक्ष मुन्ना कमकरलगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले १६ औँ गाउँसभाको अवसरमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार जनताको प्रत्यक्ष सहभागिता र आवश्यकता अनुसार योजना निर्माण तथा कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो

अध्यक्ष यादवले यसै आर्थिक वर्षभित्र सखुवाप्रसौनी गाउँपालिकालाई सुकुम्बासी मुक्त गाउँपालिका बनाउने अभियान अगाडि बढिसकेको जानकारी दिनुभयो। देशमै पहिलो पटक सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गाउँपालिका सखुवाप्रसौनी भएको उल्लेख गर्दै उहाँले यस अभियानलाई सफल बनाउन सबै वडाध्यक्षहरूको विशेष सहयोग, पहल र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिँदै अध्यक्ष यादवले तत्काल टेन्डर प्रक्रिया अगाडि बढाई निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

साथै उहाँले गाउँपालिकाभरि लागूऔषधमुक्त अभियान सञ्चालन गर्ने जोड दिए । सबै धर्म, संस्कृति र परम्पराको सम्मान तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। खेलकुद क्षेत्रको विकासमा समेत जोड दिँदै अध्यक्ष यादवले सखुवाप्रसौनीलाई खेलकुदको क्षेत्रमा चिनाउने उद्देश्यले सबै वडाध्यक्षहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। पारदर्शिता, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

अधिवेशनमा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोले सामाजिक विकासलाई केन्द्रमा राख्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गको सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा योजनाहरूले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले १६ औँ गाउँसभाको सफलताका लागि शुभकामना व्यक्त गर्दै गाउँपालिकाको सर्वाङ्गिक विकासमा अधिवेशनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाको पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको र राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताउँदै यस विषयमा सबै जनप्रतिनिधि तथा कर्मचारीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा अझ प्रभावकारी योजना निर्माण र कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै उहाँले आर्थिक अनुशासन, प्रभावकारी सेवा प्रवाह तथा जनमुखी प्रशासन सञ्चालनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। विकास लक्ष्य हासिल गर्न जनप्रतिनिधि र कर्मचारीबीच आपसी सहकार्य अनिवार्य रहेको उहाँको भनाइ थियो।

अधिवेशनमा विभिन्न वडाध्यक्षहरूले आ–आफ्ना वडामा देखिएका समस्या, आवश्यकता र प्राथमिकताबारे धारणा राखेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खानेपानी तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए।

आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटसम्बन्धी विषयमा व्यापक छलफल भएको यस अधिवेशनबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय जनताको जीवनस्तर उकासिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, लेखापाल, योजना शाखा प्रमुख, स्वास्थ्य प्रमुख, सामाजिक शाखा प्रमुख, प्रशासन शाखा प्रमुख , पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार