वीरगंजमा उत्पन्न तनावपूर्ण परिस्थितिका कारण प्रशासनले कर्फ्युको अवधि आज साँझ ६ बजेसम्म विस्तार गरेको छ।
हिजो सोमबार साझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु सुरुमा आज बिहान ८ बजेसम्मका लागि तोकिएको थियो।

तर अवस्था सामान्य नदेखिएपछि प्रशासनले बिहानको कर्फ्यु हटाउनुको सट्टा पहिलो चरणमा दिउँसो १ बजेसम्म लम्बाएको थियो। पछिल्लो मूल्याङ्कनपछि पुनः समय थप गर्दै साँझ ६ बजेसम्म कर्फ्यु कायम गरिएको हो।
यसैबीच, धार्मिक द्वन्दबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक जारी छ।
बैठकमा हिन्दु तथा मुस्लिम समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरू सहभागी भई समाधानका उपायबारे छलफल गरिरहेका छन्।
कर्फ्युका कारण वीरगंज शहर सुनसान देखिएको छ। बजार क्षेत्र, मुख्य सडक र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून छ भने अधिकांश पसल तथा व्यवसायिक प्रतिष्ठान बन्द छन्।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न नागरिकहरूलाई संयमता अपनाउन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन पुनः आग्रह गरेको छ।



